बागलुङ । नेकपा (एमाले) बागलुङको जिल्ला अधिवेशन आगामी माघ ९ र १० गते हुने भएको छ। पार्टीको जिल्ला कमिटी बैठकले जिल्ला अधिवेशनसँगै वडा तथा पालिका अधिवेशनको मिति तय गरेको हो।
गलकोट नगरपालिकाको हटिया बजारमा सोमबार सम्पन्न जिल्ला कमिटी बैठकले आगामी मंसिर २८ गते जिल्लाका ८५ वटै वडामा एकैदिन वडा अधिवेशन गर्ने निर्णय गरेको छ। त्यस्तै, पुस ६ गते जिल्लाका १० वटै पालिकामा पालिका अधिवेशन सम्पन्न गरिने जनाइएको छ।
जिल्ला कमिटीको नियमित कार्यकाल बाँकी रहे पनि अध्यक्ष हिराबहादुर केसी केन्द्रीय सदस्यको उम्मेदवार बनेपछि अध्यक्ष पद रिक्त भएको थियो। अध्यक्ष पद रिक्त रहेका जिल्लामा छ महिनाभित्र अधिवेशन सम्पन्न गर्न पार्टी केन्द्रले दिएको निर्देशनअनुसार बागलुङमा अधिवेशनको मिति तय गरिएको एमालेले जनाएको छ।
बैठकले वर्तमान जिल्ला कमिटीलाई संगठन कमिटीमा रूपान्तरण गर्दै उपाध्यक्ष विष्णुप्रसाद भुषालको संयोजकत्वमा जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको छ। उक्त कमिटीले वडा, पालिका र जिल्ला अधिवेशनको तयारी तथा व्यवस्थापन गर्ने जिम्मेवारी पाएको छ।
बैठकमा जिल्लाको समग्र संगठनात्मक अवस्था, पार्टीका गतिविधि तथा आगामी राजनीतिक र सांगठनिक योजनाबारे छलफल गरिएको थियो। वडा तथा पालिकाका प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रको सांगठनिक अवस्था र पार्टीका गतिविधिबारे जानकारी गराएका थिए।
जिल्लामा पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने, स्थानीय तहसम्म पार्टीका गतिविधि विस्तार गर्ने तथा समसामयिक राजनीतिक विषयमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल गरी आवश्यक निर्णय गरिएको कार्यालय सचिव चन्द्रमणि उपाध्यायले जानकारी दिनुभयो।
पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मनकुमारी केसीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकको अध्यक्षता कार्यवाहक अध्यक्ष विष्णुप्रसाद भुषालले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन गणेशबहादुर थापामगरले गर्नुभएको थियो।