काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। बिहीबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो।
बैठकले आउँदो मंसिर पहिलो साता राष्ट्रिय भेला बोलाउने तय गरेको छ। भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहने जनाइएको छ।
यस्तै बैठकले वडा र पालिका अधिवेशनको मिति समेत तोकेको छ। स्थायी कमिटी बैठकले वडा अधिवेशन मंसिर २६ गते गर्ने निर्णय गरेको छ। त्यसपछि पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय भएको छ।
एमालेले वडा र पालिका अधिवेशनपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय समेत गरेको छ।
यसैगरी बैठकले जिल्ला अध्यक्ष रिक्त रहेका १३ वटा जिल्लामा अध्यक्ष तोकेर माथिल्लो कमिटीमा पठाउन निर्देशन दिएको छ।