गलकोटमा तीन वामपन्थी दलको संयुक्त शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
गलकोट, असोज २९। नेपालीहरूको महान् पर्व बडादसैँ, तिहार, छठ तथा नेपाल संवत्को अवसरमा बागलुङको गलकोटमा तीन वामपन्थी दलको संयुक्त आयोजनामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय जनमोर्चा गलकोट नगर समिति, नेकपा (एमाले) गलकोट नगर समिति र नेपाली कम्युनिष्ट पार्टी गलकोट नगर समितिको संयुक्त आयोजनामा गलकोट नगरपालिका–६ स्थित मनसुन होटलमा कार्यक्रम सम्पन्न भएको हो।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गलकोट नगर समिति अध्यक्ष टंक केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य फमलाल निउरे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेकपा (एमाले) बागलुङका जिल्ला सचिवालय सदस्य डम्बरबहादुर श्रीसले बडादसैँ, तिहार, छठ तथा नेपाल संवत् जस्ता पर्वले समाजमा आपसी सद्भाव, भाइचारा र एकताको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले चाडपर्वले सबैलाई एकताबद्ध बनाउँदै सामाजिक सम्बन्धलाई थप सुमधुर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्ने वक्ताहरूले चाडपर्वले सामाजिक सद्भाव, आपसी भाइचारा र राजनीतिक एकतालाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँहरूले विभिन्न विचार र आस्था भएका राजनीतिक दलहरूबीच आपसी समझदारी, सहकार्य र एकता आवश्यक रहेको धारणा राखेका थिए।
शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ज्ञामनाथ गैरे (अनिल), नेकपा (एमाले) की केन्द्रीय सदस्य मञ्जु शर्मा चालिसे, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बेदिलाल सापकोटा र नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तिलक उप्रेतीले शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक व्यक्तित्व तथा स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो।
कार्यक्रम नेपाली कम्युनिष्ट पार्टी गलकोट नगर समितिका अध्यक्ष गंगा भुजेलको सञ्चालन सम्पन्न भएको थियो l
तीन वामपन्थी दलको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमले चाडपर्वको शुभकामना आदान–प्रदानसँगै सामाजिक सद्भाव र राजनीतिक सहकार्यको सन्देश दिएको छ। #बागलुङ #शुभकामना
😍😍✅🙏🙏