दशैं र तिहारको समय पछिल्लो केही वर्षयता बागलुङमा पर्यटनको मुख्य सिजन बन्दै आएको थियो। कालिका मन्दिर, पञ्चकोटदेखि ढोरपाटन घुम्न आउने पर्यटकले होटलहरु भरिभराउ हुने यो बेला बागलुङ बजारका होटलहरु अहिले भने सुनसान छन्। बागलुङ बजारमा समेत खासै चहलपहल देखिँदैन।
जिल्ला भित्रिने मुख्य नाकाको रुपमा रहेको मालढुङ्गा पुलको पहुँच मार्गमा क्षति पुग्दा १४ दिनदेखि यातायात ठप्प हुँदा जनजीवन प्रभावित बनेको हो।
बागलुङलाई सडक सञ्जालसँग जोड्ने मुख्य नाका मालढुङ्गा पुल १४ दिनदेखि सञ्चालनमा आउन नसक्दा प्रत्यक्ष असर व्यापार र पर्यटनमा परिरहेको छ। सडक सञ्जालको पहुँच, प्रचारप्रसार र थपिँदै गएका पर्यटन पूर्वाधारका कारण बागलुङ, म्याग्दी र मुस्ताङले पर्यटन क्षेत्रमा फड्को मार्दै गएकोमा मालढुङ्गा पुल र कालीगण्डकी करिडोरको सडक अवरोधले समस्या बनाएको हो।
असोज ११ गते मालढुङ्गामा आएको बाढीले मालढुङ्गाको पर्वत खण्डतर्फको पहुँच मार्ग बगाएपछि ठप्प बनेको यातायातले बागलुङको पर्यटन, स्वास्थ्य सेवा र व्यापार चौपट बनाएको छ। बिरामीहरु पैदलयात्रा गरेर उपचारका लागि पोखरा पुग्नुपर्ने बाध्यता रहेको छ।
दशैंको मुखमा भरिभराउ हुने होटलहरु यतिबेला सुनसान बनेको पर्यटन व्यवसायी एन्जील शाक्यले बताउनुभयो। उहाँले भन्नुभयो, “मुख्य सडक नै छैन, पर्यटक कसरी आउने? मुस्ताङसँग सडक सम्पर्क नै बिच्छेद छ। मुस्ताङको प्रभावले समेत चलायमान हुने बागलुङ अहिले ठप्प छ। पुल सञ्चालनमा जति ढिलो हुन्छ, होटल व्यवसाय त्यति मारमा पर्दछ।”
भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्गको समेत महत्वपूर्ण संगमस्थल भएकाले उक्त पुल राष्ट्रिय प्राथमिकताका साथ मर्मत हुनुपर्ने हो। तर, १४ दिन बित्दा पनि मर्मत सम्पन्न भएको छैन।
वैकल्पिक मार्गले भान्सा महँगो
सडक बन्द भएपछि अहिले वैकल्पिक मार्गबाट आयात-निर्यात भइरहेको छ। जुन दशैंको मुखमा पर्याप्त छैन। पर्वत जिल्लाको फलेवास हुँदै बलेवा भएर बागलुङ र मालढुङ्गा-बेनी हुँदै बागलुङमा यात्रुवाहक बस तथा साना ढुवानीका ट्रकहरु सञ्चालनमा आएका छन्।
लामो र घुमाउरो वैकल्पिक बाटो प्रयोग गर्नुपर्दा ढुवानीमा थप समय र खर्च लाग्ने भएकाले सामानको मूल्यसमेत बढ्न थालेको व्यवसायीहरूको भनाइ छ।
ग्यासको मूल्यमा १५० देखि १७० रुपैयाँ अतिरिक्त ढुवानी शुल्क लागेपछि एक सिलिन्डरमा एक सय रुपैयाँ बढाएर ग्यास बिक्री भइरहेको ग्यास विक्रेता हरी आचार्यले बताउनुभयो। समयमै आपूर्ति नहुँदा बागलुङमा तरकारीको समेत अभाव भएको छ। पेट्रोलियम पदार्थ, खाद्यान्न, लत्ताकपडा लगायत उपभोग्य वस्तुहरुको माग अनुसार आपूर्ति हुन सकेको छैन। पुल बन्द हुँदाकै दिन बागलुङमा पेट्रोल पम्पमा लाइन लागेको थियो। अहिले वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थको ढुवानी भइरहेको छ।
दशैं अगि पुल सञ्चालनमा आउने
दशैंअघि पुल सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय पोखराले रात र दिन काम गरिरहेको छ। ११४ मिटर लामो पुलको पहुँचमार्गको झण्डै ३० मिटर सडकमा क्षति पुगेपछि दुई जिल्लाबीचको सम्पर्क विच्छेद बनेको छ भने मध्यपहाडी लोकमार्ग हुँदै बागलुङ, रुकुम, रोल्पाको सम्पर्क सूत्रसमेत टुटेको छ।
सडक डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले चाडवाड नजिकिँदै गएको तथा बागलुङमा खाद्यान्न, ग्यास लगायत उपभोग्य सामानको अभाव देखिन थालेकाले २४ सै घण्टा काम गरेर भए पनि छिटो पुल सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिनुभयो।
source:aadarsahsanchar