Skip to main content

Mulkura Samachar

📆 २०८३ कार्तिक २० गते

२१ वर्षीय विश्वास भण्डारी रास्वपाको ‘क्यान्डिडेट क्लब’मा, नेपालकै कान्छो सम्भावित उम्मेदवार हुन सक्ने आँकलन

मुलकुरा समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सञ्चालनमा ल्याएको ‘क्यान्डिडेट क्लब’ मा बागलुङको गलकोटबाट २१ वर्षीय युवा विश्वास भण्डारीले नाम दर्ता गराउनुभएको छ।

गलकोट नगरपालिका–२, नरेठाँटी निवासी भण्डारी हाल शिक्षा शास्त्र सङ्काय (बीएड) तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ। उच्च शिक्षा हासिल गर्दै गर्नुभएका उहाँले देशको राजनीति, समाज रूपान्तरण र स्थानीय विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित क्यान्डिडेट क्लबको प्रक्रियामा सहभागिता जनाउनुभएको हो।

समाज रूपान्तरण, विकास र समृद्धिप्रति चासो राख्दै आफू औपचारिक रूपमा क्यान्डिडेट क्लबको प्रक्रियामा सहभागी भएको भण्डारीले मुलकुरा समाचारलाई जानकारी दिनुभयो।

रास्वपाले सक्षम, योग्य र नेतृत्व क्षमता भएका व्यक्तिलाई राजनीतिमा अघि बढाउने उद्देश्यसहित क्यान्डिडेट क्लबको अवधारणा अगाडि सारेको छ। यही प्रक्रियामा २१ वर्षको उमेरमै भण्डारीको सहभागितालाई गलकोटमा युवा राजनीतिक सक्रियताको नयाँ उदाहरणका रूपमा हेरिएको छ।

यति कम उमेरमा उम्मेदवारी प्रक्रियामा चासो देखाउनुभएका भण्डारी नेपालकै कान्छा सम्भावित उम्मेदवारमध्ये एक हुन सक्ने आँकलन गरिएको छ। यद्यपि, उहाँ नै नेपालकै सबैभन्दा कान्छो सम्भावित उम्मेदवार हुनुहुन्छ भन्ने विषयमा स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।

पुराना राजनीतिक दलहरूको कार्यशैलीप्रति युवा पुस्तामा असन्तुष्टि बढिरहेको चर्चाका बीच भण्डारीको सहभागिताले युवाहरू राजनीतिमा मतदाता मात्रै नभई नेतृत्वदायी भूमिकामा समेत अघि बढ्न इच्छुक रहेको सन्देश दिएको छ।

स्थानीय तहबाटै नेतृत्व विकासको तयारीमा जुट्नुभएका भण्डारीको यो कदमले गलकोटको राजनीतिक वृत्तमा समेत चासो बढाउने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.