गलकोट, बागलुङ। गलकोट सामुदायिक सिकाइ केन्द्रको आयोजनामा शिक्षक–शिक्षिकाका लागि सञ्चालन गरिएको ९० घण्टे आधारभूत कम्प्युटर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
गलकोट नगरपालिका वडा नं. ३ र ८ का सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यापनरत शिक्षक–शिक्षिकालाई लक्षित गरी सञ्चालन गरिएको तालिम गलकोट नगरपालिका–३ स्थित गलकोट माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच सम्पन्न भएको हो।
तालिम समापन कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले आधुनिक प्रविधिसम्बन्धी ज्ञान र सीप आजको समयमा शिक्षक–शिक्षिकाका लागि आवश्यक रहेको बताउनुभयो। उहाँले कम्प्युटरसम्बन्धी सीपले शिक्षण सिकाइ प्रक्रियामा प्रविधिको प्रयोग बढाउनुका साथै कक्षाकोठामा अध्यापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा कालिलेक सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष चन्द्रदत्त रेग्मी, गलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर खत्री र प्रशिक्षक नवीन चालिसेले मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी महिला प्रशिक्षार्थीका तर्फबाट यमकुमारी चालिसे गौतम र पुरुष प्रशिक्षार्थीका तर्फबाट तिलाराम चालिसेले तालिमका अनुभव राख्नुभएको थियो।
प्रशिक्षणबाट शिक्षक–शिक्षिकाको कम्प्युटरसम्बन्धी ज्ञान र सीप अभिवृद्धि हुनुका साथै शिक्षण सिकाइमा प्रविधिको प्रयोग विस्तार हुने अपेक्षा गरिएको छ।
गलकोट सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष पदम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत केन्द्रका सदस्य गुमानसिंह खत्री र सञ्चालन सदस्य खिम साहानीले गर्नुभएको थियो।