ताराखोला, बागलुङ — जिल्लाको ताराखोला गाउँपालिकाले बाढी पहिरोमा ज्यान गुमाएका पालिकाबासीका परिवारलाई राहत प्रदान गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले पीडितको घरमै पुगेर राहत हस्तान्तरण गरिएको जानकारी दिनुभयो । गाउँ कार्यपालिकाको निर्णय अनुसार मृतकका परिवारलाई जनही १/१ लाख रुपैयाँ राहत प्रदान गरिएको हो ।
राहत प्रदान गर्न गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षसहितको टोली पीडितको घरमै पुगेको थियो ।
यही असोज ८ देखि ११ गतेको बाढी पहिरोमा परी ताराखोला गाउँपालिकामा ३ जनाको मृत्यु भएको थियो ।
यसैबीच गाउँपालिकाले बाढी पहिरोबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न अपिल समेत गरेको छ । बाढी पहिरोबाट घरबास, सडक, विद्यालय भवन, सार्वजनिक भवन, विद्युत् संरचना तथा प्रसारण लाइनमा ठूलो क्षति पुगेको छ ।