बागलुङको गलकोट नगरपालिका–१० पाण्डबखानीस्थित सुनपानीमा विजया दशमीको अवसरमा आयोजित ‘कालिका स्पोर्ट बोका कप जुनियर’ तथा विविध खेलकुद कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम संयोजक विरेन्द्र घर्तीको नेतृत्वमा सञ्चालन भएको प्रतियोगितामा स्थानीय पुरुष, महिला तथा जुनियर खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगिताअन्तर्गत पुरुषतर्फ ज्याथर टिम ‘ए’ प्रथम र ज्याथर टिम ‘बी’ द्वितीय भएका छन्। महिलातर्फ आयोजक टिम ‘बी’ प्रथम र आयोजक टिम ‘ए’ द्वितीय हुन सफल भएका छन्। त्यसैगरी, १३ वर्षमुनिका (यू–१३) पुरुष फुटबल प्रतियोगितामा आयोजक टिम प्रथम र लेङ्गुरे टिम द्वितीय भएका छन्।
विजया दशमीको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको मुख्य उद्देश्य गाउँघरमा लुकेर रहेका बालबालिका तथा युवाहरूको खेल प्रतिभा पहिचान गर्दै त्यसको विकास र प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। खेलकुदमार्फत स्थानीय समुदायमा आपसी भाइचारा, सद्भाव र एकता कायम गर्नुका साथै युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्ने लक्ष्यसमेत राखिएको थियो।
कार्यक्रमकै अवसरमा आयोजक टिमले न्यु घुम्टे एजुकेसनल एकेडेमीलाई शैक्षिक सामग्रीसमेत उपलब्ध गराएको थियो। खेलकुदसँगै शैक्षिक क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले गरिएको उक्त कार्यले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
स्थानीय स्तरमा खेलकुदको विकास, प्रतिभाको पहिचान र सामाजिक एकता प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।