Key Takeaways
- विराटनगर–१० स्थित अर्किट प्लस टुले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ की छात्रा युनिसा राई प्रथम भएकी छन्।
- प्रतियोगितामा शिवकुमार साह द्वितीय र सतेन्द्र साह तृतीय भएका छन्।
- विद्यार्थीको वक्तृत्व क्षमता, तर्कशक्ति र विषयवस्तुमाथिको पकड परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो।
- प्रतियोगिताबाट अनुस दाहाल, दीपक दास, भेनस पोखरेल लगायत सात विद्यार्थी उत्कृष्ट भएका छन्।
- विद्यार्थीभित्र लुकेर रहेका प्रतिभा पहिचान गरी प्रस्फुटन गराउने उद्देश्यले अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिइएको प्रिन्सिपल मनिष भट्टराईले बताएका छन्।
विराटनगर /विराटनगर–१० स्थित अर्किट प्लस टुले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ की छात्रा युनिसा राई प्रथम भएकी छन् । २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै युनिसाले पहिलो स्थान हासिल गरेकी हुन् ।
प्रतियोगितामा शिवकुमार साह द्वितीय र सतेन्द्र साह तृतीय भएका छन् । विद्यार्थीको वक्तृत्व क्षमता, तर्कशक्ति र विषयवस्तुमाथिको पकड परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगिताका लागि ‘कक्षा कोठादेखि मोबाइलको पर्दासम्मः बदलिँदो विद्यार्थी जीवन’ र ‘जलवायु न्यायः जिम्मेवारी कसको ? असर कसलाई ?’ गरी दुई विषय छनोट गरिएको थियो । सहभागी विद्यार्थीले आफूलाई रुचि लागेको विषय छनोट गरी त्यसमा आफ्ना धारणा र तर्क प्रस्तुत गरेका थिए ।
कवि तथा पत्रकार मीनकुमार नवोदितको प्रमुख निर्णायकत्वमा शिक्षक राजन दत्त र सन्तोष अधिकारी सदस्य रहेको निर्णायक समितिले विजेताको टुंगो लगाएको हो । सम्बोधन, विषयवस्तुको ज्ञान, प्रस्तुति, तर्क, विचारको क्रमबद्धता, भाषिक शुद्धता तथा शब्द चयन, मौलिकता र समय व्यवस्थापनलाई मूल्यांकनको आधार बनाइएको प्रमुख निर्णायक नवोदितले बताए ।
प्रतियोगिताबाट उत्कृष्ट सात विद्यार्थी पनि छनोट भएका छन् । उत्कृष्ट सातमा अनुस दाहाल, दीपक दास, भेनस पोखरेल, त्रिक्षा महासेठ, उदय सोनार, सिर्जना मण्डल र गरिमा दास परेका छन् ।
प्रथम, द्वितीय र तृतीयसहित उत्कृष्ट सातमा छनोट भएका विद्यार्थीबीच अर्को चरणको प्रतियोगिता आयोजना गरिने भएको छ । उक्त प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई कलेजका तर्फबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने प्लस टुका प्रिन्सिपल मनिष भट्टराईले बताए ।
विद्यार्थीभित्र लुकेर रहेका प्रतिभा पहिचान गरी त्यसलाई प्रस्फुटन गराउने उद्देश्यले अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिइएको भट्टराईले बताए । उनका अनुसार अर्किटले कविता, वक्तृत्वकला, वादविवाद, चित्रकला, हाजिरीजवाफ तथा खेलकुदलगायतका गतिविधिलाई नियमित रूपमा अघि बढाउँदै आएको छ ।
कार्यक्रमको सहजीकरण शिक्षक मनोज तिवारीले गरेका थिए ।