गलकोट, बागलुङ
नेपाली कम्युनिष्ट पार्टी गलकोट नगर कमिटीको आयोजनामा गलकोटमा दुईमहिने राष्ट्रिय जनजागरण अभियान सुरु भएको छ।
पार्टीले देशव्यापी रूपमा सञ्चालन गरेको अभियानअन्तर्गत आयोजित कार्यक्रममा वर्तमान राजनीतिक अवस्था, सरकारका गतिविधि तथा जनताका समस्या र पार्टीको आगामी कार्यदिशाबारे छलफल गरिएको थियो।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य फमलाल निउरेले वर्तमान सरकारका गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै देशमा बढ्दै गएको बेथिति, विसङ्गति र अनियमितताविरुद्ध जनतालाई सचेत गराउन अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँले सरकारका गलत गतिविधिको भण्डाफोर गर्दै पार्टीका विचार, नीति तथा धारणा जनतामाझ पुर्याउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा पार्टी केन्द्रको परिपत्र नगर सहइन्चार्ज चन्द्रदत्त रेग्मीले प्रस्तुत गर्नुभएको थियो। त्यस्तै, पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज ज्ञामनाथ गैरे ‘अनिल’ र केन्द्रीय आयोजक समिति सदस्य तिलक उप्रेतीले समसामयिक राजनीतिक अवस्था तथा राष्ट्रिय जनजागरण अभियानका विषयमा आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले अभियानको उद्देश्य, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाका विषयमा आ–आफ्ना विचार व्यक्त गरेका थिए।
कार्यक्रम नेपाली कम्युनिष्ट पार्टी गलकोट नगर संयोजक गंगा भुजेलको अध्यक्षता, नगर इन्चार्ज हर्क थापाको स्वागत मन्तव्य तथा प्रदेश सदस्य खिम साहानीको सञ्चालनमा सम्पन्न भएको थियो।
पार्टीले दुईमहिने अभियानमार्फत जनतामाझ राजनीतिक चेतना अभिवृद्धि गर्दै वर्तमान राजनीतिक तथा सामाजिक परिस्थितिबारे जनतालाई जागरुक बनाउने लक्ष्य लिएको जनाएको छ।