Skip to main content

Mulkura Samachar

📆 २०८३ कार्तिक २० गते

गलकोट–६ मा वडा अध्यक्षका लागि गिरीको दाबी, ‘क्यान्डिडेट क्लब’मा दिए आवेदन; ‘धेरै बोल्दिनँ, काम गरेर देखाउँछु’

गलकोट–६ मा वडा अध्यक्षका लागि गिरीको दाबी, ‘क्यान्डिडेट क्लब’मा दिए आवेदन; ‘धेरै बोल्दिनँ, काम गरेर देखाउँछु’

गलकोट, कात्तिक ६। बागलुङको गलकोट नगरपालिका–६ मा आगामी निर्वाचनका लागि वडा अध्यक्ष पदमा युवा व्यवसायी गिरीले आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत ‘क्यान्डिडेट क्लब’मार्फत औपचारिक आवेदन दर्ता गराउनुभएको हो।

लामो समय वैदेशिक रोजगारीमा बिताएर हासिल गरेको ज्ञान, सीप र अनुभवलाई आफ्नै जन्मभूमिको विकासमा उपयोग गर्ने उद्देश्यले नेपाल फर्किनुभएका गिरीले गलकोटमा ‘रोईला रिसोर्ट’ सञ्चालन गर्दै आउनुभएको छ। स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र आफ्नै ठाउँमा आर्थिक गतिविधि बढाउने उद्देश्यसहित उहाँ व्यवसायमा सक्रिय रहँदै आउनुभएको हो।

गत असोज ११ गते दरमखोलामा आएको भीषण बाढीका कारण उहाँले सञ्चालन गर्दै आउनुभएको रोईला रिसोर्टमा ठूलो भौतिक तथा आर्थिक क्षति पुगेको थियो। प्राकृतिक विपत्तिले व्यवसायमा गम्भीर असर पारे पनि निराश नभई पुनः उठ्ने प्रयासमा रहनुभएका गिरीले सामाजिक तथा राजनीतिक सेवामार्फत वडाको विकासमा योगदान पुर्‍याउने लक्ष्य अघि सार्नुभएको छ।

गिरीले वडा नं. ६ को समग्र विकास, सुशासन, पारदर्शिता, युवा स्वरोजगार, पर्यटन प्रवर्द्धन र नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर अघि बढ्ने सोच बनाएको बताउनुभएको छ। उहाँका अनुसार वडाको विकास भाषण र आश्वासनमा मात्र सीमित नभई व्यवहारमा देखिनुपर्छ। स्थानीय नागरिकका समस्या बुझ्ने, आवश्यकताका आधारमा योजना बनाउने र उपलब्ध स्रोतसाधनको उचित उपयोग गर्दै विकासका कामलाई परिणाममुखी बनाउनु आवश्यक छ।

“म धेरै बोल्दिनँ, काम गरेर देखाउँछु,” गिरीले भन्नुभयो।

उहाँले विदेशमा सिकेको ज्ञान र अनुभवलाई आफ्नै ठाउँको विकासमा लगाउने, स्थानीय युवालाई आफ्नै गाउँमा केही गर्न सक्ने वातावरण निर्माण गर्ने तथा सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेका स्थानीय स्रोतसाधन र पर्यटन क्षेत्रको विकासमा जोड दिने आफ्नो सोच रहेको बताउनुभएको छ।

वडामा विकास निर्माणका कामलाई प्राथमिकताका आधारमा अघि बढाउने, जनताको गुनासो सुन्ने, नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने र सार्वजनिक सेवामा जवाफदेहिता कायम गर्ने विषयलाई समेत आफूले महत्त्व दिएको उहाँको भनाइ छ।

प्राकृतिक विपत्तिबाट आफ्नै व्यवसायमा क्षति व्यहोरेपछि पनि निरन्तर प्रयासमा रहनुभएका गिरीको उम्मेदवारी दाबीलाई व्यक्तिगत अनुभव, उद्यमशीलता र स्थानीय विकासप्रतिको चासोसँग जोडेर हेरिएको छ। यद्यपि उम्मेदवारको अन्तिम टुङ्गो सम्बन्धित पार्टीको छनोट प्रक्रियाबाट लाग्नेछ।

गलकोट–६ मा युवा नेतृत्व, स्थानीय रोजगारी, पर्यटन विकास र प्रभावकारी जनसेवाका विषय आगामी निर्वाचनमा महत्त्वपूर्ण मुद्दा बन्न सक्ने देखिएको छ। गिरीको उम्मेदवारी दाबीले वडाको राजनीतिक गतिविधिमा थप चासो बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.