Key Takeaways
- प्रत्येक केन्द्रीय सदस्यलाई पार्टी, अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदन, जनतासँगको सम्बन्ध र समसामयिक विषयमा बोल्न बढीमा ३ मिनेटको समय निर्धारण गरिएको छ।
- सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च र अनुशासनका सम्बन्धमा पनि यसै बैठकले दृष्टिकोण तय गर्नेछ।
- पोलिटव्यूरो र स्थायी कमिटी लगायतका नेताहरूको जिम्मेवारी बाँडफाँट भने भोलि गर्ने तयारी रहेको छ।
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन बैठक सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा भइरहेको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम सुरु हुनेछ ।
उहाँका अनुसार हरेक केन्द्रीय सदस्यले बढीमा ३ मिनेटमा पार्टी, अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदन जनतासँग सम्बन्ध र समसामयिक विषयमा आफ्ना धारणाहरु राख्ने गरी समय व्यवस्थापन गरिएको छ ।
आजबाट क्रमश केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनय, विभागहरुको गठन, पोलिटव्यूरो गठन, स्थायी कमिटीको गठनका एजेण्डा अघि बढाउने तयारी छ । यसैगरी सल्लाहकार परिषद, ज्येष्ठ कम्यूनिष्ट मञ्च, अनुशासनका सम्बन्धमा दृष्टिकोण बनाउने पनि यही बैठकले गर्ने छ ।
आज केन्द्रीय सदस्यहरुको मनोनयन गरेर बैठकमा धारणा राख्ने क्रम सुरु हुनेछ । पोलिटव्यूरो, स्थायी कमिटी लगायत नेताहरूको जिम्मेवारी बाँडफाँट भोलि गर्ने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए । सोमबारको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए।