Skip to main content

Mulkura Samachar

२०८३ आश्विन ८

अविरल वर्षाले नारायणगढ–मुग्लिङ सडक ठप्प, अर्को सूचना नभएसम्म यातायात बन्द

लगातारको अविरल वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि उक्त सडकमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय, चितवनले सोमबार साँझ ७ः३० बजे जारी गरेको अत्यावश्यक सूचनामार्फत अर्को सूचना जारी नभएसम्म नारायणगढ–मुग्लिङ सडकखण्डमा कुनै पनि सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेको हो ।

प्रशासनका अनुसार निरन्तरको वर्षाले सडकका विभिन्न स्थानमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यात्रुको सुरक्षालाई ध्यानमा राख्दै सडक सञ्चालनमा पूर्ण रोक लगाइएको जनाएको छ ।

प्रशासनले काठमाडौं उपत्यकाबाट बाहिर यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । त्यसैगरी रुपन्देही तथा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) हुँदै काठमाडौं आउने यात्रुहरूलाई चितवनभन्दा अगाडि नबढ्न अनुरोध गरिएको छ ।

यदि अत्यावश्यक यात्रा गर्नैपर्ने अवस्था भए खानेपानी, सुख्खा खाना (ड्राइ फुड), प्राथमिक उपचार सामग्री, एक–दुई सेट कपडा तथा मोबाइल चार्जर साथमा राख्न प्रशासनले सुझाव दिएको छ ।

कुनै पनि आपत्कालीन सहयोग आवश्यक परे नेपाल प्रहरी (१०), सशस्त्र प्रहरी (१४), जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (DEOC–१२३४) तथा जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारीको मोबाइल नम्बर ९८५०१३९९९ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा यात्रुलाई असहजता भएकोमा क्षमायाचना गर्दै सुरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह गरिएको छ। साथै सडक सञ्चालनसम्बन्धी थप सूचना सम्बन्धित निकायबाट जारी हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.